पोखरा, १८ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने बताएका छन् । आफ्नो नेतृत्वको सरकारले गत वर्ष चीनसँग पारवाहन सम्झौतामार्फत नाकाबन्दीको जड समाप्त पारेकोले अब नेपाललाई कसैले नाकाबन्दी लगाएर दुःख दिन नसक्ने ओलीले बताए ।
नेकपा एमाले कास्की जिल्ला कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको जिल्लास्तीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ नेपाली कांग्रेस विकास निर्माणको विषयमा चासो नदिने र हुनेवाला भनिएका प्रधानमन्त्री आफ्नै जिल्लाबासीलाई प्रहरी प्रमुख बनाउने काममा लागेकाले फुर्सदमा नरहेको उल्लेख गरे ।
देशका प्रमुख संवैधानिक निकायहरु खाली रहेको बेला राजनीतिक निकास दिन सरकार चुकेको ओलीको कथन थियो । गठन भएको आठ महिनामा सरकारले कुनै उपलब्धि देखाउन नसकेको बताउँदै ओलीले भने, ‘अहिले लोडसेडिङ अन्त्य गरेको भनी सरकारमा बस्नेहरु मख्ख पर्दै प्रचार गरिरहेका छन् । तर, हाम्रै सरकारको पालामा लोडसेडिङ अन्त्य गर्ने कार्यक्रम र योजना बनेर छिमेकी देशहरुसँग सम्झौता भएको लुकाईरहेका छन् ।’
अध्यक्ष ओलीले कास्की र आसपासका जिल्लाहरुलाई केन्द्रमा राख्दै आफ्नो नेतृत्वको सरकारले पोखरा विमानस्थल निर्माणका लागि चीन सरकारसँग पहल गरेको र गत वर्ष शिलान्यास समेत भएको स्मरण गर्दै कास्की क्षेत्र र समग्र देश विकासका लागि नेकपा एमालेको विकल्प नभएको बताए ।
मधेसी मोर्चाको माग उल्लेख गर्न लायक नभएको भन्दै उनले मोर्चाले राजनीतिको आवरणमा अपराध गरिरहेको बताए । अध्यक्ष ओलीले मधेसमा भईरहेको अपराधीकरण सरकारले नियन्त्रण गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा कांग्रेस, माओबादी केन्द्र, राप्रपा, अखण्ड नेपाल पार्टी लगायत त्यागेर एमाले प्रवेश गर्नेहरुको नाम पढ्दा करिब दुई घण्टा बितेपछि कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष कृष्ण थापा र अध्यक्ष ओलीले मात्र सम्बोधन गरे ।
एमालेमा प्रवेश गर्नेहरुमा माओबादी केन्द्रका केन्द्रिय सदस्य रुपबहादुर कुमाल, अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य अनिरुद्र थापासहित स्वतन्त्र बुद्धिजीवीहरु डा.अनुप गुरुङ, डा. अनिल थापा लगायात १३ सय भन्दा बढी रहेका छन् । आज एमाले प्रवेश गर्नेहरु स्थानीय तहमा रहेर जनताका बीचमा काम गरेका व्यक्तिहरु भएको बताइएको छ ।
0 comments:
Post a Comment