
खासमा यो इम्पोर्टेड हल्ला हो। भारतमा केही महिनाअघिदेखि यस्तै हल्ला भइरहेको छ। सोसल मिडिया र मिडियाका कारण हल्ला यति फैलिएर आतंक मच्चिएको छ कि केही गाउँमा त रातमा गस्ती नै गर्न थालिएको छ। अब त्यही हल्ला नेपालमा पनि आयात गरेका हुन् कसैले।

अहिलेसम्म सीमावर्ती जिल्लाहरुमा मात्रै यस्तो हल्ला फैलिएको छ। राजधानीमा यसको कुनै प्रभाव परेको छैन। तर उतातिर यस्तो हल्लाले कति आतंककै रुप लिएको छ भन्ने कुरा जान्न त्यहाँका बासिन्दाहरुसँग कुरा गर्नुपर्छ। हल्ला निकै फैलिएकैले होला, पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलनै गरेर भन्नुपर्यो- हल्लाको पछि नलाग्नुस्। साउन २९ गते पहिलोपटक वीरगञ्ज १८ नगवाकी बगडी चमारित कपाल काटिएर बेहोस भएर अस्पताल भर्ना भएकी थिइन्। त्यसपछि भदौ ४ गतेसम्म सात दिनमा २० वटा कपाल काटेको घटना भएको पर्साका एसपी सुदीप गिरीले बताए।
अचम्मको कुरा के भने सबै घटनामा केटी। केटाको कतै कपाल काटिएको छैन। नौ जनाको राति र ११ जनाको दिउँसै कपाल काटिएको रहेछ। तर कसैले पनि कपाल काट्नेलाई देखेको भने रहेनछ। यसै पनि भूत भन्दै आतंक मच्चाइएको छ, तर्सिएरै बेहोस हुँदा हुन्। अनि होस आउँदा कपाल काटिएको भेटिन्छ रे।
भूतले छोएपछि त केही नराम्रो हुनुपर्ने हो। तर यस्ता महिलाहरु केही घण्टा अस्पतालमा बस्दा रहेछन्। सलाइन पानी चढाएको केही समयमै डिस्चार्ज भएर फर्कँदा रहेछन्। किनभने बीपीदेखि सबैकुरा नर्मल। भनेपछि मानिसहरुमा फैलिएको आतंकनै मूल जरा रहेछ भन्ने बुझ्नुपर्यो।
भारतमा यो हल्ला यति फैलिएको छ कि बीबीसी हिन्दीले समेत यसबारे समाचार बनाएको थियो। बीबीसी हिन्दीका अनुसार सबैभन्दा पहिला यस्तो घटनाको खबर जुलाई महिनामा राजस्थानबाट आएको थियो। त्यसपछि हरियाणा र राजधानी दिल्लीमा समेत यस्तो भएको कुरा सुनियो।
भारतमा पनि यस्तो कपाल काट्ने आक्रमणकारीलाई कसैले देखेका छैनन्। तर्कवादी सनाल एडामरूकूले यो यो “मास हिस्टिरिया” या “जन भ्रम” का उत्कृष्ट उदाहरण भएको बताएका छन्। उनले भनेका छन्, “यसको पछाडि कुनै चमत्कार या अलौकिक शक्ति छैन। यी घटनाहरु रिपोर्ट गर्ने महिलाहरु निश्चित रुपमा कुनै आन्तरिक मनोवैज्ञानिक द्वन्द्वसँग जुधिरहेका होलान्। जब उनीहरुले यस्तै घटनाबारे सुन्छन्, तब आफूमाथि पनि यस्तै भएको जस्तो महसूस गर्छिन्। यस्तो कहिलेकाहीँ अवचेतनावस्थामा पनि हुन्छ।’
यस्तो हल्लाले त्यतिबेला नराम्रो रुप लिन्छ, जब कसैको हत्या हुन्छ। कपाल काट्ने डायन भन्ठानेर आगरामा एक वृद्ध विधवा महिलालाई कुटपिट गर्दा अगस्त महिनाको सुरुमा ज्यानै गयो। धन्न नेपालमा त्यस्तो कुनै काम भएको छैन।
हल्लालाई हल्लाले काट्छ भने जस्तै अहिले भारतमा फेरि एउटा म्याकी नामको कीराले चाहिँ कपाल काट्ने हो भन्ने अर्को हल्ला फैलाइएको छ। कीराको भिडियोसहितका पोस्टहरु अहिले सोसल मिडियामा छ्यापछ्याप्ती भेटिन्छ। भिडियो तल नखुले यहाँ क्लिक गरी हेर्नुस्
नेपालमा यस्तै हो भनी यस्ता घटनाबारे कसैले बताइसकेका छैनन्। तर हुबहु भारतकै जस्तो कपाल काटिने, बेहोस हुने अनि कसैले नदेख्ने लक्षण मिलेकोबाट यो त्यहीँबाट आयातित हल्ला हो भन्ने प्रष्ट हुन्छ। कसैले अध्ययन गरे यहाँ पनि मास हिस्टेरिया वा जनभ्रमकै उदाहरण हुनसक्छ।
जे भए पनि डराउनु पर्ने कुरा केही छैन, आखिर कपाल अलिकति काटिए पनि हुने केही हैन, सब कुरा नर्मल नै हुने रहेछ। त्यसैले आतंकित नहोऔँ।
0 comments:
Post a Comment