५५ जना यात्रु बोकेको गाडीको ड्राईभर निदाँदा गजुरीबाट फेरी त्रिशुलीमा खस्यो बस, २८ जनाको शव फेला ५५ जना यात्रु बोकेको गाडीको ड्राईभर निदाँदा गजुरीबाट फेरी त्रिशुलीमा खस्यो बस, २८ जनाको शव फेला बिहान त्रिशूलीमा ३३ यात्रुको ज्यान जाने गरी भएको बस दुर्घटनामा ‘चालकको लापरबाही’ कारक देखिएको छानबिन समितिले औंल्याएको छ । राजविराजबाट काठमाडौं आइरहेको यात्रुवाहक रात्रिबस धादिङको गजुरी ५, बांगेमोडमा सडकबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनास्थलमा सडकको घुम्ती मोड्न (४० मिटर) पर्याप्त रहे पनि चालक निदाउँदा बस सिधैं त्रिशूलीमा खसेको समितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले ठहर गरेको हो । ‘नेपालमा सडकको अर्धव्यास ३० मिटरसम्म रहेको हुँदा दुर्घटनास्थलमा रहेको घुम्ती त्यति गाह्रो होइन,’ समितिका एक सदस्यले भने । दुर्घटनास्थलको अध्ययन–विश्लेषणपछि समिति उक्त निचोडमा पुगेको ती सदस्यले जानकारी दिए ।
समितिले लामो दूरीको बसमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था लागू नहुनुलाई गजुरी दुर्घटनाको प्रमुख कारक औंल्याएको छ । उक्त व्यवस्था प्रभावकारी कार्यान्वयन नहुनुमा ट्राफिक प्रहरीसमेत दोषी रहेको समितिको ठहर छ ।
११ कात्तिकको दुर्घटना छानबिनका लागि गठन गरिएको समितिले सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन सुझाव पनि अघि सारेको छ । सवारीधनी, चालकदेखि विभिन्न सरोकारवालासँगको छलफल र अन्तक्र्रियाका आधारमा समितिले सुझाव अघि सारेको हो ।
यसै क्रममा गृह मन्त्रालयले गएको साता सडक दुर्घटना न्यूनीकरणमा सुझाव संकलनका लागि राष्ट्रियस्तरको छलफल आयोजा गरेको थियो । छलफल र अन्तक्र्रियापछि सडक दुर्घटनाका केही उदेकलाग्दा कारण उजागर भएको र तिनको निराकरणका लागि सरकारलाई आवश्यक सुझाव दिने समितिका एक सदस्यले जनाए ।
समितिले सडक छेउमा रहेका पानीका धारालाई पनि दुर्घटनाको कारकका रूपमा औंल्याउँदै तिनलाई तत्काल हटाउन सुझाएको छ । समितिसँग छलफलमा चालकहरूले सडकछेउ रहेका पानीका धारामा हुने भीडभाडले ध्यान मोड्ने गरेको बताएका थिए । त्यसैगरी सडक छेउका होर्डिङ बोर्ड पनि दुर्घटनाको कारक रहेकाले हटाउने निष्कर्ष पनि समितिले निकालेको छ । राजमार्ग अतिक्रमण गरी बनाइएका टहरा पनि दुर्घटनाका कारक देखिएकाले तत्काल हटाउन सुझाइएको छ ।
कतिपय दुर्घटना सहचालकले सवारी हाँकेका कारण पनि हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न चालकहरूका लागि बेग्लै पोसाक व्यवस्था गर्नुपर्ने र त्यसबाट यात्रुमा चालकप्रति सम्मान र विश्वास बढ्ने अपेक्षा पनि समितिको छ । प्रहरी कन्ट्रोल रुममा सिधै फोन वा एसएमसएस गर्न पाउने गरी बसभित्रै प्रस्ट रूपमा हटलाइन उल्लेख गर्नुपर्ने सुझाव पनि समितिको छ । यसबाट चालकले यात्रुहरूसँग झैझगडा गर्ने, मदिरा सेवन गर्ने र लापरबाहीपूर्ण ढंगले सवारी हाँक्ने प्रवृत्ति अन्त्य हुने समितिले जनाएको छ ।
चालकलाई ध्यान अवरुद्ध पार्ने गतिविधिमा रोक लगाउनुपर्ने सुझाव पनि समितिको छ । चालक आफैंले भिडियो र म्युजिक प्लेयर चलाउने, खाने र यात्रुसँग कुराकानी गर्ने प्रवृत्तिलाई पनि दुर्घटनाको कारक औंल्याइएको छ । यसबाहेक समितिले सडक दुर्घटना न्यूनीकरणका लागि केही नीतिगत सुझाव पनि अघि सारेको छ ।
लाइसेन्स लिने प्रक्रिया लामो र जटिल भएका कारण लामो दूरीको सार्वजनिक यातायातमा सिकारु र अपरिपक्व चालक संख्या बढै गएको पनि समितिले उजागर गरेको छ । त्यसका लागि लाइसेन्स प्रक्रियालाई सरल बनाउन नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव समितिको छ । चालक र अन्य कर्मचारीलाई श्रम ऐनअनुसार अनुबन्ध गर्नुपर्ने र सोही आधारमा सेवासर्त तथा वृत्तिविकासको व्यवस्था हुनुपर्ने निष्कर्ष समितिको छ ।
सरकारले दुर्घटनाकै दिन ११ कात्तिकमा गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय तोकिएको छ ।
महाशाखा नेतृत्वविहीन
सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढै गएको छ । कात्तिकमा मात्रै तीन सडक दुर्घटनामा ५० भन्दा बढीले ज्यान गुमाएका छन् । तर, सडक सुरक्षासम्बन्धी आवश्यक नीति/नियम तर्जुमा गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको निर्माण तथा यातायात महाशाखा पाँच महिनादेखि नेतृत्वविहीन छ । यसले सरोकारवाला निकाय सडक सुरक्षाप्रति गम्भीर छैनन् भन्ने देखाउँछ ।
गत असारमा महाशाखाका प्रमुख, सहसचिव माधव कार्की सेवानिवृत्त भएदेखि नेतृत्वविहीन छ । फागुनयता महाशाखाले नेतृत्व पाउने सम्भावना छैन । किनकि लोकसेवाले इन्जिनियर हाइवे उपसमूहका लागि हाल सञ्चालन गरिरहेको सहसचिव पदको परीक्षाको सम्पूर्ण प्रक्रिया फागुनयता सकिँदैन । ‘सडक सुरक्षाप्रति सरकार गम्भीर नदेखिएको प्रमाण पनि हो यो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सर्वसाधारणको जीउधनसँग सम्बन्धित नीति/नियम बनाउने महाशाखा नै यत्तिका समयसम्म नेतृत्वविहीन हुनु दु:खद छ ।

0 comments:
Post a Comment