महिला जो विवाह जोगाउन परपुरुषसँग सम्बन्ध राख्न बाध्य छन् -


ब्रिटेनमा कतिपय अनलाइन सेवाले ‘सम्बन्ध विच्छेद’ भएका मुसलमान महिलालाई ‘हलाला’ भनिने इस्लामी विवाहमा सरिक हुन हजारौं पाउण्ड लिने गरेको बीबीसीको एक अनुसन्धानले पत्ता लगाएको छ।
ती महिलाले आफ्ना पूर्व पतिसँग पुन: विवाह गर्नका निम्ति परपुरुषसँग विवाह गर्न, यौन सम्बन्ध राख्न र अनि पारपाचुके गर्न त्यसरी पैसा तिर्ने गर्छन्।
फराह (असली नाम होइन) आफू २० वर्षको हाराहारीमा हुँदा पारिवारिक मित्रमार्फत आफ्नो पतिसँग चिनाजानी भयो।
उनीहरुको विवाहपश्चात बालबच्चा भए तर त्यसपछि फराहमाथि दुर्व्यवहार शुरु भयो।
“पहिलो चोटि पैसाको निहुँमा उसले दुर्व्यवहार गर्यो,” उनले बीबीसी एसियन नेटवर्क तथा भिक्टोरिया डर्बीशायर कार्यक्रमलाई बताइन्।
“उसले मलाई कपाल समातेर दुईवटा कोठामा घिसार्यो। मलाई घरबाट निकाल्न खोज्यो। कतिपय समयमा ऊ बहुलाएकै शैलीमा प्रस्तुत हुन्थ्यो।”
दुर्व्यवहार हुँदाहुँदै पनि फराहले पति सच्चिने आशा गरिन्।
तर उनी झन्-झन् खराब हुँदै गए।
एक्कासी उनले एक दिन ‘टेक्स्ट मेसेज’ पठाएर सम्बन्ध विच्छेद गरे।
“म घरमा केटाकेटीसँग थिए। उनी कार्यालयमा थिए। चर्काचर्की हुँदाहुँदै उनले एक्कासी तलाक, तलाक, तलाक लेखिएको सन्देश पठाए।”
‘ट्रिपल तलाक’ भनिने उक्त प्रणाली अन्तर्गत केही मुसलमान समुदायमा पतिले तीनचोटि तलाक भन्ने बित्तिकै तत्काल विवाहको अन्त्य हुन्छ।
अधिकांश मुसलमान देशमा यो प्रथा प्रतिबन्धित भए पनि अझै कायमै छ।
ब्रिटेनमा कति महिलाको यसरी सम्बन्ध विच्छेद भएका छन् भन्ने आँकडा छैन।
फराहले स्वाभाविक अवस्थामा आफूले हलाला गर्नुपर्ने जस्तो सोच नराख्ने बताइन्
“मैले मेरो फोनको सन्देश बुवालाई देखाएँ। उहाँले अब तिम्रो विवाह सकियो र उसकहाँ तिमी फर्कन सक्दिनौं भन्नुभयो।”
फराह भन्छिन्, त्यसले उनलाई निकै हतप्रभ तुल्यायो।
आफ्ना पतिलाई निकै माया गर्ने उनी पुन: फर्कन चाहन्थिन्।
उनका अनुसार उनका पति पनि उनीसँग त्यसरी सम्बन्ध विच्छेद गरेपछि पछुताए।
यसले फराहलाई ‘हलाला’ भनिने एक विवादास्पद प्रथातर्फ डोर्यायो।
यो प्रथालाई ‘ट्रिपल तलाक’ मान्ने थोरै मुसलमान समुदायले मान्ने गर्छन्।
उनीहरुको विश्वास छ, ‘ट्रिपल तलाक’मार्फत सम्बन्ध तोडिएका जोडीलाई पुन: विवाह बन्धनमा बाँध्न हलाला एकमात्र उपाय हो।
‘हलाला’ अन्तर्गत महिलाले परपुरुषसँग विवाह गर्नुपर्छ।
सो विवाह निर्वाह समेत गर्नुपर्छ – अनि त्यस विवाहको सम्बन्ध विच्छेद भएपछि मात्र पहिलो पतिसँग पुनर्मिलन हुन सक्छ।
तर कतिपय घटनामा ‘हलाला’ सेवा लिन चाहने महिलाहरु ठगी, ‘ब्ल्याकमेल’ तथा यौन शोषणको जोखिममा पर्छन्।
यो प्रथा अधिकांश मुसलमानले स्वीकार्दैनन्।
सम्बन्ध विच्छेदबारे मुसलमान समुदायका केही व्यक्तिको गलत बुझाइले यो प्रथा निम्तिएको ठानिन्छ।
तर बीबीसीले गरेको एक अनुसन्धानले इन्टरनेटमार्फत यस्तो सेवा दिने थुप्रै फेला पार्यो।
कतिपयले महिलालाई यो सुविधा बापत हजारौं पाउण्ड तिराउने गरेको पाइयो।

बाध्यता

फेसबुकमा हलाला सेवाको विज्ञापन गर्ने एक पुरुषका सामु बीबीसीकी एक संवाददाता पहिचान लुकाएर भेट्न पुग्दा उनलाई २५ सय पाउण्ड तिर्नुपर्ने अनि अस्थायी विवाहको पूर्णताका निम्ति ती पुरुषसँग यौन सम्बन्ध राख्नुपर्ने बताइयो।
त्यसपछि ती व्यक्तिले सम्बन्ध विच्छेद गरी बाटो खोलिदिने उपाय सुनाइयो।
सो व्यक्तिले आफ्नो साथ अन्य पुरुषहरुपनि काममा रहेको बताए।
ती मध्ये एक पुरुषले त हलाला सेवा उपलब्ध गराइसकेपछि शुरुमा एक महिलालाई सम्बन्ध विच्छेद गर्न आनाकानी गरेको ती व्यक्तिले बताए।
ती व्यक्तिले कुनै कानुन तोडेको त देखिंदैन।
बीबीसीले सो भेटघाटपश्चात उनलाई सम्पर्क गर्दा उनले सबै आरोपहरु अस्वीकार गरे।
आफूले कहिले ‘हलाला’ नगराएको र फेसबुक अकाउन्ट पनि केवल रमाइलोको निम्ति खोलेको उनले बताए।
तर आफ्ना पूर्व पतिसँग पुनर्मिलन हुने उत्कट आकांक्षाका कारण फराहले ‘हलाला’ प्रथा अन्तर्गत आफूसँग सम्बन्ध जोड्न चाहने पुरुषको खोजी शुरु गरिन्।
खोला हसन
खोला हसन भन्छिन् हलाला प्रथाले महिलाको शोषण निम्त्याउँछ
फराहले भनिन्, “मलाई ती केटीहरुका बारेमा थाहा थियो जसले यो प्रक्रिया अपनाएका थिए। उनीहरु मस्जिद जान्थे। त्यहाँ एक खास कोठा हुन्थ्यो जहाँ यो सब काम हुन्थ्यो। कुनै इमाम वा अन्य कसैले यी सेवा दिन्थे। यौन सम्बन्ध राख्थे र अन्य पुरुषसँग पनि यौन सम्बन्ध राख्न अनुमति दिन्थे।”
तर महिलाहरुलाई सम्बन्ध विच्छेदबारे नियमित सल्लाह सुझाव दिदैं आएको पूर्वी लण्डनस्थित इस्लामिक शरिया काउन्सिलले ‘हलाला’ प्रथाको कडा निन्दा गरेको छ।
“यो फर्जी विवाह हो। यो केवल पैसा कमाउने तथा शोषण गर्ने तरिका मात्र हो। यो प्रतिबन्धित छ। जस्तोसुकै अवस्थामा पनि हलालाको कुनै आवश्यकता छैन,” उक्त काउन्सिलका खोला हसनले बताए।
फराहले अन्तत: ‘हलाला’ प्रथाको जोखिम बहन गर्ने र पूर्व पतिकहाँ फर्कने सोच नै त्यागिन्।
तर आफूजस्तै कयौं महिला अझैपनि समाधानको खोजीमा रहेको उनले बताइन्।
उनी भन्छन्, – “यदि तपाईं सोध्नुहुन्छ भने, हो स्वाभाविक अवस्थामा मैले कहिले त्यस्तो सोच राख्ने थिइन। म आफ्नो प्रेमीकहाँ फर्कनका निम्ति परपुरुषसँग यौन सम्बन्ध राख्दिन। तर यही बखत म मेरा पूर्व पतिसँग फर्कन अत्यन्तै इच्छुक थिएँ।”
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment