गत शनिबार घाटबेंसीमा भएको बस दुर्घटनापछि बेपत्ता भएका ४ जनामध्ये एक पुरुषको शव बिहीबार फेला परेको छ । बस डुबेकै स्थानबाट शव पानीको सतहमा आएपछि प्रहरीले झिकेको हो । उक्त शव टिकट काटेर बसमा चढेका ३० वर्षीय अभिनन्द चौधरी हुन सक्ने अनुमान गरिएको छ । आफन्तजनले औपचारिक सनाखत नगरुन्जेल किटान गर्न नमिल्ने गजुरीस्थित ईलाका प्रहरी ईन्चार्ज वरुणबहादुर सिंहले बताए ।
बस उछिट्टिने बेला वेपत्ता भएकाहरु गहिरो तलाउमा परेर पौडिन नसकेर वा तत्काल उद्धार हुन नसकी पानीमै डुबेको हुन सक्ने प्रहरी निरीक्षक सिंहले बताए । बिहीबार फेला परेको शवसहित मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा बस चालक र २ जना यात्रु अझै फेला परेका छैनन् ।
गत ११ गते शनिबार भएको दुर्घटनामा डुब्दै गरेको बसबाट तत्काल १६ जना यात्रुको उद्धार गरिए पनि डुबेको बसभित्रबाट ३१ जनाको शव निकालिएको थियो । ३० जनाको सनाखत भई परिवारलाई जिम्मा लगाइएको थियो । सनाखत हुन बाँकी एक जनाको शव प्रहरीले काठमाडौं शिक्षण अस्पतालमा पठाएको छ ।
धादिङ दुर्घटना छानबिन गरी फर्कियो टोली
त्रिशूली नदीमा भएको बस दुर्घटना छानबिन गर्न सरकारद्वारा गठित छानबिन टोली घाटबेंसीको दुर्घटनास्थल आएर फर्केको छ । गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित टोलीले बुधबार घटनास्थलको अनुगमन र निरीक्षण गरेका हुन् । टोलीले सडकको अवस्था, सडक छेउमा राखेका कन्फिडेन्ट वाल र ग्याभिन जाली सबैको निरीक्षण गरेका छन् । घटनाबारेमा जाँचबुझ गर्न घटनास्थल आएका छानबिन आयोगको सदस्य भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सहसचिव राजेन्द्र शर्मा काफ्लेले तीव्रगतिका कारण बस दुर्घटना हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
टोलीले सवारी दुर्घटना भएका क्षेत्रका सडकहरुको समेत अवलोकन गरेका थिए । चालकको लापरबाहीका कारण दुर्घटना भएको सडक प्राविधिकहरुको भनाइ छ । मन्त्रालयले सार्वजनिक यातयात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनुपर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
0 comments:
Post a Comment