नालायकहरु सत्तामा पुगेपछि के सम्म हुदो रहेछ

  देउवाः खरिदविक्रीका नाइके 

नेपाल प्रहरीको आइजीपी बढुवामा कहिले नभएको इतिहास रचियो । डिआइजीमा तीन नम्बर वरियतामा रहेका जयबहादुर चन्दलाई आइजीपी बढुवा गरेर । चन्द आइजीपी हुनुको मापदण्ड थियो सुदरपश्चिमेली हुनु, देउवाका खास नजिक हुनु र नेपाली काँग्रेसलाई भविष्यमा हुने चुनावमा बहुमत ल्याउन सहयोग गर्ने सपथ देउवासामु खानु । यो घटना हुँदै गर्दा प्रधानमन्त्रीको कुर्सीमा प्रचण्ड छन् भने टेको दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । नेपाल प्रहरीको चेन अफ कमान्ड बिगार्ने, प्रहरीमा राजनीतिकरण बढाउने देखि प्रहरीभित्र गलत सन्देश प्रभाव गर्ने योजना मुताबिक गरिएको यस निर्णयले राजनीतिक दलमा बढेको प्रदूषण सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत प्रवेश गर्ने छाँटकाँट देखिइसकेको छ । यसमा मुख्य भूमिका खेले देउवाले र राजनीतिक स्वार्थपूर्तिमा साथ दिए प्रचण्डले । देउवाले आफ्नो भूमिका अस्वीकार गरेर नग्न शरीर छोप्न दुवै हातले मुख छोपे जस्तो व्यवहार देखाए । जुन व्यवहार प्रचण्डले पनि देखाउँदै आएका छन् । यी दुवै पात्रहरूको स्वभाव र शैलीमा धेरै हदसम्म मिल्दोजुल्दो छ । सत्ता र शक्तिका लागि नैतिक मूल्य मान्यता बिर्सेर अगाडि बढ्दैछन् । देश र जनता सम्म कुनै सरोकार छैन । 
 देउवा विकृति र विसंगतिका नाइके नै हुन् । उनी प्रधानमन्त्री हुँदा सांसद किनबेचको घिनलाग्दो घटनाहरू भए । त्यो बेला सांसद जस्तो गरिमामयी पदमा बस्नेहरूलाई सत्ताको गणितमा जोडेर ‘सुरा र सुन्दरी’ का खेलहरू भए । पैसाको बिटोको भरमा सांसदको खरिदविक्री भए । सांसदहरू टुकुचा छेऊ विक्री हुने खसीबोका जस्ता भने । देउवामाथि सत्ताका लागि नैतिक मूल्य मान्यता बिर्सेको दागहरू लाग्यो । वीपी कोइरालाका प्रीयपात्र देउवाले कहिले पनि वीपीका आदर्शलाई स्मरण गरेनन् । प्रधानमन्त्रीका लागि आत्मसमर्पणवादी व्यवहार देखाए । सत्ताबाट हट्नुपर्ने अवस्था आएपछि पार्टी फोडे, संसद बिघटन गरे, प्रजातन्त्र राजालाई बुझाए । अझैपनि नेपाली काँग्रेसको आदर्श र सिद्धान्तमा चल्ने नेता तथा कार्यकर्ता देउवालाई प्रजातन्त्र राजालाई बुझाउने अवसरवादी भन्छन् । उनीहरू काँग्रेसमा हुँदा पनि देउवालाई दरबारिया काँग्रेस भन्थे । हुनपनि देउवाले त्यस्तै चरित्र देखाए । सत्ताका लागि काँग्रेसलाई समेत जुवाको खालमा राखे । बुढानिलकण्ठको आलिशान बङ्गलामा बस्ने देउवाले कृष्णप्रसाद भट्टराई आफ्ना आदर्श नेता मानेका छन् । तर, उनले कहिलेपनि किशुनजीको आदर्शलाई व्यवहारमा लागू गरेनन् । सिद्धान्तको राजनीतिको कुनै छनक देखिदैन । डडेलधुराको सामान्य परिवारबाट आएका उनी कुलीन वर्गमा परिणत भए । हास्यास्पद पक्ष यो छ कि समाजवादी चिन्तक भनिएका प्रदीप गिरी उनैलाई नेता मानेर हिंड्छन् । देउवाको विलासी जीवन चर्चामा आउनेगर्छ । किशुनजीले पदका लागि निष्ठाको राजनीति कहिले त्यागेनन् । प्रधानमन्त्री पद छाडेपछि छाता, सुराई र ट्यांका बोकेर ट्याक्सीमा फर्किएका थिए । देउवा त्यसको ठिक विपरित छन् । जब उनी सत्तामा पुग्थे तब सम्पत्ति ह्वात्तै बढ्थ्यो । सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुन्छन् । पछिल्लो समय उनी प्रचण्डसँग साँठगाँठ गर्न पुगे । प्रधानमन्त्री बन्ने ढोका खोल्न प्रचण्डसँग सम्झौता गर्न पुगे । देशमा राष्ट्रवादको भावना उर्लिरहँदा बाह्य शक्तिको आँडमा देउवा प्रचण्डलाई प्रधानमन्त्री दिने सहमतिमा आत्मसमर्पणवाद देखाए । राष्ट्रवादी धारलाई कमजोर पार्न महाकाली पारी तरेर दिल्लीको तीर्थाटन गरिरहे । आशिर्वादका लागि टाउको झुकाइरहे । फलस्वरुप केही समय अघि जेएनयुको मानार्थ विद्यावारिधी दिलाइए र दलाई लामाद्वारा उद्घाटित कार्यक्रममा वक्ताका रूपमा निम्तो गरिए । तिब्बती शरणार्थीका नेता लोब्साङ साङ्गेसँग भेटेको तस्वीर सार्वजनिक भयो । देउवाले सजिलै चिप्लने नेताको परिचय बनाइसकेका छन् । जसरी उनी आइजीपी प्रकरणमा चिप्लिए । आइजीपी बढुवामा देउवाले जे जस्ता हर्कत देखाए त्यसले उनको राजनीतिक तिकडमहरू धेरै पर्दा बाहिर आयो । नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्दा होस् या गठबन्धन सरकारमा रहँदा नै किन नहोस् । जेष्ठता मिचेर आइजीपी बढुवा गरेको रेकर्ड थिएन । उनको राजनीतिक गुरू गिरिजाप्रसाद कोइरालाले कहिलेपनि जेष्ठतालाई बेवास्ता गरेनन् । पूर्वको बासिन्दा र पश्चिमका बासिन्दा भनेनन् । न त पूर्व र पश्चिम भनेर बजेटमा यताउता गरे । देउवा क्षेत्रीयतावादी देखिए । संघीयताको सिमाङ्कनमा सुदुरपश्चिमलाई टुक्राएर प्रदेश बनाउने विपक्षमा उभिए । जबकि उनी स्वयं अन्य क्षेत्रका मामलामा गैरजिम्मेवारपूर्ण धारणा राख्दै जे होस् होस् जस्तो गर्न थाले । आइजीपी बढुवा प्रकरणमा राम्रा भन्दा हाम्रालाई संरक्षण दिने स्वभाव देखाए । देउवाले सुदुरपश्चिमेली भएका नाताले त्यहींका जयबहादुरलाई बढुवा गर्न दबाब दिए । 
यतिसम्मकी सत्ता गठबन्धन तोड्ने सम्मको धम्की दिए । देउवालाई वरियता मिच्न दबाब दिने जोकोही काँग्रेसी नेतालाई उल्टो जवाफ दिन्थे– नवराज सिलवाल कम्युनिष्ट हुन् । सुरक्षा निकायमा कार्यरतहरूलाई राजनीतिक बिल्ला भिराउने जस्तो व्यवहार देउवाबाट भयो । यसले राजनीतिक दलका नेताहरूप्रति सुरक्षा क्षेत्रका व्यक्ति देखि सर्वसाधारणले हेर्ने दृष्टिकोण समेत नकारात्मक धारणा बढ्न पुग्यो । एउटा प्रहरीका उच्च अधिकारीलाई राजनीतिक पार्टीको ट्याग लगाउन देउवा स्वयंले विभिन्न भेटघाटहरूमा सस्ता वाक्य बोलिरहे । यद्यपि उनी आइजीपी बढुवामा आफ्नो संलग्नता स्वीकार गर्दै स्वकीय सचिवमार्फत् विज्ञप्ति जारी गर्न पुगेका छन् । डोकोले छोप्दैमा बिरालो म्याऊ गर्न छाड्दैन । देउवाले म्याऊ गरिसके । देउवाले हठी स्वभाव देखाए । यो हठ उनकै लागि प्रत्युत्पादक बन्यो । गृहमन्त्री विमलेन्द्र निधिले हजार पटक सम्झाउँदा समेत हठ त्यागेनन् । बरु निधिलाई पद त्याग्न भने । गृहसचिवलाई टिप्पणी उठाउन रोके । एउटा आइजीपीका लागि देउवाको हठ त्यतिबेला भयो जतिबेला काँग्रेसभित्र क्षेत्रीयतावादी र साम्प्रादायिक भावनाविरुद्ध संघर्ष गर्नुपर्ने मान्यता विकास हुँदै थियो । देउवा स्वयं क्षेत्रीयतवादी भाव देखाउन थाले । हुनपनि उनलाई सुदुरपश्चिमका मात्र नेता भन्ने गरिन्थ्यो । सुदुरपश्चिम बाहेकका काँग्रेसीहरू भन्थे–देउवालाई सुदुरपश्चिम भए पुग्न रहेछ । यो समयले पुष्टि गरेको छ । उनी आफ्ना क्षेत्रका मान्छेलाई बनाउन राजनीतिक चरित्रहरू बिर्सेर लागिपरे । यो हदसम्म देउवा राजालाई प्रजातन्त्र बुझाउँदा समेत नांगिएका थिएनन् । विकृति र विसंगतिका नाइके ठहर भइसकेका प्रचण्ड र देउवाको साँठगाँठले देशलाई बर्बादीतर्फ धकेलिइरहेकै थियो । सुरक्षा निकायमा तिव्र राजनीतिकरणले अर्को निकम्मापन पुष्टि गरेको छ । जताततै विकृति बढाउने र देशलाई दाउमा राख्ने व्यहोरा देखिएको छ । यी घटनाले देउवालाई सबैभन्दा ठूलो खाडमा जाकिसकेको छ । प्रचण्डले सुरक्षा निकाय जस्तो संवेदनशील क्षेत्रलाई राजनीतिक सौदावाजीको विषय बनाए । तर, दुवैले देशलाई विकृति र विसंगति प्रयोग गर्ने प्रयोगशाला बनाए । देशमा सबै बिग्रदा पनि न्यायको धरोहरबाट आशा हुन्छ । अहिले आशा छ त सर्वोच्च अदालतमाथि छ । न्याय र अन्याय छुट्याउने अदालत छ । जसको निर्णयलाई सबैले मान्नैपर्छ । विकृति र विसंगतिका नाइकेहरू पराजित हुनेछन् । इश्वरले सत्य देख्छन् पर्खनुपर्छ ।   दृष्टिबाट 
- See more at: http://muldharnews.com/content/nalayak-haru-sattama-puga-paxi.html#sthash.FydSCAM8.dpuf
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment